कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, मुसिकोट शाखाले केन्द्र प्रमुख तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।जिल्लाको मुसिकोट नगरपालिकामा आयोजित कार्यक्रममा वित्तीय साक्षरताको महत्वबारे जानकारी दिन तथा उत्कृष्ट केन्द्रहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बत्ताएको छ ।
कालिका लघुबित्तका अनुगमन अधिकृत दिपक बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले बचत तथा लगानीको उचित व्यवस्थापन, ऋणको प्रभावकारी उपयोग, वित्तीय योजना, उद्यमशीलताको प्रवद्र्धन र समुहगत सहकार्यको विषयमा जानकारी लिन सहभागीहरुलाई आग्रह गदै वित्तीय साक्षरताको महत्व र महिलाहरूलाई आत्मनिर्भर बनाउन वित्तीय ज्ञान अपरिहार्य रहेको बत्ताउनुभयो ।
कार्यक्रममा बिभिन्न विधामा उत्कृष्ट हुने महिला सदस्यहरू तथा केन्द्रहरूलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋणी मञ्जरी कालिका महिला विकास केन्द्रकी सम्झना केसी, उत्कृष्ट बचतकर्ता ठुलीदह कालिका महिला विकास केन्द्रकी विनिता सुनार र उत्कृष्ट केन्द्र प्रमुख पारिजात कालिका महिला विकास केन्द्रकी सोभा परियार दमाईलाई उपहार र सम्मान पत्रले सम्मान गरिएको छ ।
त्यस्तै बार्षिक केन्द्र मुल्याङकन तर्फ दशौँसम्मलाई बिभिन्न उपहारका साथै नगद र प्रमाणपत्रले सम्मान गरिएको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, मुसिकोट शाखा रुकुम पश्चिमका शाखा प्रमुख सिर्जना केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिनेश खड्का, वडा नम्बर ३ का वडाध्यक्ष दशरथ केसी, वडा नम्बर ५ का वडाध्यक्ष समिरजङ मल्ल, वडा नम्बर ६ का वडाध्यक्ष भानु मल्ल, वडा नम्बर ११ का कार्यवाहक वडाध्यक्ष शशीराम रोका, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओली लगायत मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाबाट ८५ जना समुहमा आबद्ध महिला सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, मुसिकोट शाखा रुकुम पश्चिमका शाखा प्रमुख सिर्जना केसीले गर्नुभएको थियो ।