मुसिकोट नगरपालिका –१, बह्राटाकुरामा आयोजित तेस्रो संस्करणको खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला ब्याडमिन्टन संघको आयोजनामा गत बुधबारदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिश्पर्धा भएको थियो । अल नेपाल खुला पुरुष डबल, कर्णाली प्रदेश पुरुष डबल, रुकुम पश्चिम खुला पुरुष डबल, रुकुम पश्चिम खुला महिला डबल र १९ वर्ष मुनिको पुरुष एकल गरेर पाँच विधामा आयोजित ब्याडमिन्टन प्रतियोगितामा आज सम्पन्न भएको हो ।
संघका जिल्ला अध्यक्ष अनिल बुढाका अनुसार अल नेपाल खुला पुरुष डबल ब्याडमिन्टनतर्फ रुकुम पश्चिमको आठबिसकोट निवासी नवराज मल्ल र मुस्कान केसीको जोडी विजेता बनेको छ । दाङ निवासी हिमांसु कुँवर र विवेक चौधरीको जोडीलाई हराउँदै मल्ल र केसीको जोडी विजेता बन्न सफल भएको हो । बुढाका अनुसार अल नेपाल खुला पुरुष डबल ब्याडमिन्टनतर्फ विजेता जोडीले जोडीले ५२ हजार नगद र उपविजेता जोडिले ३१ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस विधामा सान्त्वना स्थान प्राप्त गर्ने रुकुम पश्चिम निवासी ईश्वर रावल तथा शिखर केसी र सुर्खेत निवासी खगेन्द्र खत्री र कृष्ण रानाको जोडीलाई समान ११ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रदेश र जिल्लामा एउटै जाेडि
शनिबार भएको फाईनलमा कर्णाली प्रदेश खुला डबल र रुकुम पश्चिम खुला डबल ब्याडमिन्टनको फाइनलमा रुकुमपश्चिमका हरि खत्री र नरेन्द्र ओलीको जोडी विजेता बनेको छ । दुई वटा विधामा भएको फाइनलमा नवराज मल्ल र मुस्कान केसीको जोडीलाई पराजित गर्दै खत्री र ओलीको जोडी विजेता बनेको हो ।
कर्णाली प्रदेश खुला पुरुष डबल ब्याडमिन्टनको विजेता जोडिले ३२ हजार, उप विजेता जोडिले २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कर्णाली खुलामा कविन्द्र पुन र महेन्द्र पुन तथा केहल जिसी र विशाल विष्टको जोडी सान्त्वना भएको । उक्त जोडीले समान ६/६ हजार पुरस्कार पाएको छ ।
रुकुम पश्चिम खुलातर्फ विशाल विष्ट र केहल जिसी तथा दीपक बिसी र रुद्र ओलीको जोडी सान्त्वना भएको छ । उक्त जोडीले समान समान ५/५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै रूकुम पश्चिम जिल्ला स्तरीय महिलातर्फ डिला पुन र आशा केसीको जोडी प्रथम भएको छ । फाइनलमा रिता खत्री र भिमकला मल्लको जोडीलाई पराजित गर्दै पुन र केसीको जोडी वितेजा बनेको हो । महिलातर्फ विजेता जोडीले नगद १५ हजार र उप विजेता जोडिले आठ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस विधामा सुहाना बुढा र साहाना बुढा तथा डम्बरा केसी र डिला परियारको जोडी सान्त्वना भएको छ । उक्त जोडीले समान ३/३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
१९ वर्ष मुनिको पुरुष एकल विधामा रुकुम पश्चिमकै शिखर केसी विजेता हुनुभएको छ । यस विधामा विजेताले नगद १५ हजार र उप विजेताले आठ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । एकल तर्फ मुसीकोटका रोहित ओली र सानीभेरीका रामकृष्ण नकाल सान्त्वना हुनुभएको छ । सान्त्वनालाई ३/३ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा गरी १०४ टिमले प्रतिश्पर्धा गरेका थिए ।