रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेको छ ।
बुधबार वडा नम्बर २ को सिम्रुतुमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमको आयोजना गरी ७५ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेको हो । पालिका भरका ७५ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान स्वरुप गाउँपालिकाले चुलो र ५ लिटरको प्रेसर कुकर प्रदान गरेको बताएको छ ।
प्रत्येक सहिद परिवारका सदस्यलाई सम्मान स्वरुप एक/ एक वटाका दरले कुकर प्रेसर र चुलो वितरण गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिनुभयो । साथै सहिद तथा बेपत्ता परिवारका सदस्यलाई दोसल्ला ओढाएर समेत सम्मान गरिएको थियो । गाउँपालिका सहिद परिवार सम्मान गर्न चालू आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पुर्व गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पुर्व जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुन, वडा अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।
त्रिवेणी गाउँपालिका सामाजिक विकास शाखा संयोजक रणबहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख सुरेश पुनमगरले गर्नुभएको थियो ।