रुकुम पश्चिम, मुसिकोट नगरपालिका-१, सल्लेमा आज एक विशेष कार्यक्रमका बीच बुद्धभूमी मानव सेवा आश्रमको शाखा कार्यालय उद्घाटन गरिएको छ। नगर प्रमुख महेन्द्र केसीले रिवन काटेर आश्रमको उद्घाटन गर्नुभयो। बृद्ध, असक्त, असहाय तथा अनाथ व्यक्तिहरुको जीवन संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यस आश्रमको केन्द्रीय कार्यालय सुर्खेत, वीरेन्द्रनगर-२ मा रहेको छ।
आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीका अनुसार खुला आकाशमुनि, सडकमा जीवन बिताउन बाध्य, घरबारविहीन, बेसहारा तथा मनोरोगी तथा अनाथ बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्ने उद्देश्यले यो संस्था सञ्चालनमा ल्याइएको हो। हालसम्म सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लामा शाखा कार्यालय स्थापना गरी असहायहरूलाई सेवा प्रदान गरिँदै आएको छ।
संस्थाका संयोजक गीता नेपालीले बैंक, विभिन्न संघसंस्था तथा सहयोगी मनहरूबाट संकलित आर्थिक सहयोगको आधारमा आश्रममा खानपान तथा पालनपोषणको व्यवस्था गरिएको जानकारी दिनुभयो। उद्घाटन समारोहमा नगर प्रमुख महेन्द्र केसीले मुसिकोट नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सोही अवसरमा रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्का, नेकपा एमालेका प्रचार विभाग प्रमुख जीवन खड्का, नेपाली कांग्रेसकी महासमिति सदस्य मनिषा भण्डारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओलीले संचालन गर्नुभएको थियो।
हाल आश्रममा ३ जना असहाय व्यक्तिहरूलाई आश्रय दिइएको छ। भविष्यमा थप असहाय तथा बेसहारा व्यक्तिहरूलाई समेट्दै सेवा विस्तार गरिने आश्रमले जनाएको छ।