नेकपा माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारीका अध्यक्ष सुन्दर शर्मा सहित ६ जनाले राजीनामा दिएका छन् । आज संयुक्त रूपमा ६ जनाले उपाध्यक्ष समक्ष राजीनामा दिएका हुन् । राजीनामा दिनेमा अध्यक्ष शर्मा सहित नगर सदस्यहरू लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाई र ललिता विष्ट रहनुभएको छ ।
गत पुस १३ देखि १७ गतेसम्म सञ्चालन भएको तेस्रो नगर अधिवेशनबाट नगर अध्यक्षमा निर्वाचित अध्यक्ष शर्मा सहित ५ जना नगर सदस्यले राजीनामा दिनुभएको हो । पार्टीलाई अझ बलियो, एकताबद्ध एवं सक्रिय बनाउन पार्टी साधारण सदस्य रहेर काम गर्ने गरी राजीनामा दिएको उनीहरूले बताएका छन् । आगामी दिनमा पार्टीले दिनु जुनसुकै जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने समेत उनीहरूको भनाई छ ।
नगर समितिमा मनोनीतको विषयलाई लिएर विवाद थियो । भूगोल सदस्य तर्फ वडामै पराजित सुन्दर शर्मालाई मनोनीत गरेर अध्यक्ष बनाइएको भन्दै आलोचना भइरहेको थियो भने पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी समेत परेको थियो । उजुरी परेको र सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको विषयले आफूहरूको गम्भीर ध्यानाकर्षण भएकोले राजीनामा दिएको अध्यक्ष शर्माले बताउनुभयो ।
हालको अवस्थाले पार्टीलाई कमजोर बनाउने बनाउने भएकोले मार्ग प्रशस्त गरेको उहाँको भनाई छ । `एकातिर निर्वाचन आयोगमा दिएको उजुरीको लामो समयसम्म पनि निरूपण हुन नसकेको अवस्था र अर्कातिर हाम्रो नेतृत्वपंक्ति, आम कार्यकर्ता एवं समर्थक शुभचिन्तकहरूले देखाएको चिन्ता र दिएको सुझावलाई समेत गम्भीर रूपले मनन गर्दै चौरजहारीमा हाम्रो पार्टीलाई अझ बलियो, एकताबद्ध एवं सक्रिय बनाउने पवित्र उद्देश्य राख्दै आजकै मितिबाट लागु हुने गरी नगर समितिको जिम्मेवारीबाट राजीनामा दिएका छौ,´ राजीनामा पत्रमा भनिएको छ ।
सहमति जुट्न नसेकेपछि नेकपा माओवादी केन्द्र चौरजहारी नगरपालिका सदस्य तथा पदाधिकारी चुन्न निर्वाचन भएको थियो ।