रुकुम पश्चिम – मुसिकोट नगरपालिका–१, खलंगामा पलम्बर र सिकर्मी तालिमको औपचारिक उद्घाटन गरिएको छ। मुसिकोट नगरपालिकाको आर्थिक सहयोग तथा थ्री आर इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रालिको प्राविधिक सहकार्यमा आजदेखि तालिम सुरु भएको हो।
तालिमको उद्घाटन नगरप्रमुख महेन्द्र केसीले गर्नुभयो। उद्घाटन कार्यक्रममा उहाँले सिकाइएका सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। साथै, उहाँले स्थानीय तहबाट सञ्चालन हुने यस्ता सीपमूलक तालिमहरूले बेरोजगार युवालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
५० दिनसम्म सञ्चालन हुने यस तालिममा मुसिकोट नगरपालिकाभित्रका ४० जना सहभागी छन्। उनीहरूलाई आधुनिक प्रविधिसहित तालिम प्रदान गरिनेछ, जसले व्यावसायिक दक्षता बढाई रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्नेछ।
थ्री आर इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रालिले विभिन्न जिल्लामा सीप विकाससम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। हालसम्म ११ जिल्लामा यस्ता तालिमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। मुसिकोट नगरपालिकामा सञ्चालन भएको यो तालिम पनि स्थानीयस्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानको रूपमा हेरिएको छ।
उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष रामबहादुर पुनले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, विभिन्न राजनीतिक दलका प्रमुख, मुसिकोट नगरपालिकाका रोजगार संयोजक, तालिम प्रशिक्षकहरू तथा सहभागीहरूको उपस्थिति रहेको थियो।
आयोजक संस्थाले तालिमले नगर क्षेत्रका युवा तथा इच्छुक नागरिकहरूलाई आधुनिक प्रविधि र दक्षतासहित आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।