कलाकार राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवालाई सुझाव दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हमालले जीवन सहज नभएको तर कहिलेकाहीँ आउने सहजतालाई उपभोग गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्याउन सक्नुभयो भने त्यसले कुनै पनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनै पनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसका लागि मेहनत गर्नुपर्छ । कुनै पनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन,’ उनले भने ।
गर्न सक्छु भन्ने आत्मविश्वास भए जीवनमा सफलता हात पर्ने पनि हमालको भनाइ छ । ‘क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैं उदाहरण बन्नुहुनेछ । यहाँहरू भोलि कुनै पनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरूसँग ऊर्जा, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला । आफ्नो प्यासनमा लागि पर्नुस् । त्यसलाई परिष्कृत गर्नुस् ।’
हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरू गर्न सकिने बताए । उनले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने बताए ।