मोबाइल फोन क्षेत्रको महाकुम्भ मानिने मोबाइल वर्ल्ड कंग्रेसको सन् २०२५ को संस्करण मार्च ३ मा सुरु हुँदैछ । मोबाइल वर्ल्ड कंग्रेस हरेक वर्ष स्पेनको बार्सिलोनामा आयोजना गरिन्छ । यस क्रममा विश्वभरका प्रविधि कम्पनीहरुले आ-आफ्ना स्टल राखेर आफ्ना नवीनतम तथा आसन्न अत्याधुनिक प्रविधिका साथै नयाँ स्मार्टफोन र यसका अवधारणाहरु समेत सार्वजनिक गर्दछन् ।
तीन दिनसम्म चल्ने यो पटकको विश्व मोबाइल सम्मेलनमा प्रसिद्ध कम्प्युटर निर्माता कम्पनी लेनोभोले एउटा उल्लेखनीय तथा नौलो प्रडक्ट सार्वजनिक गर्दैछ ।
समाचार अनुसार मोबाइल वर्ल्ड कंग्रेस २०२५ मा लेनोभोले विश्वकै पहिलो सोलार पावरयुत्त ल्यापटप सार्वजनिक गर्ने योजना बनाएको छ ।
चर्चित टिपस्टर इभान ब्लासले सोसल मिडिया प्लाटफर्म एक्समा एक पोस्ट गर्दै यसपटकको मोबाइल वर्ल्ड कंग्रेसमा केही विशेष आकर्षण लन्च हुने र त्यसमा लेनोभोले पनि आफ्नो लन्चिंग गर्न गइरहेको उल्लेख गरेका छन् । उनका अनुसार लेनोभोले यसपटक सौर्यउर्जाबाट चल्ने ल्यापटप सार्वजनिक गर्ने जनाएको छ ।
सोलार पावर उक्त ल्यापटपको माथि केही संख्यामा सोलार प्यानलहरुको प्रयोग गरिएको हुनेछ । यसलाई यस्तो प्रकारले डिजाइन गरिएको छ कि यसको सहयोगबाट ल्यापटप बन्द भएको बेलामा पनि यो चार्ज भैरहनेछ । यद्यपि अहिलेसम्म यसका विषयमा निकै सीमित मात्रै जानकारी उपलब्ध छ ।
इभानले उक्त ल्यापटपका केही तस्वीर पनि शेयर गरेका छन् । त्यहाँ प्रष्ट रुपमा सोलार पावर भन्ने शब्दहरू लेखिएको छ । तस्वीरमा ल्यापटपको माथिल्लो मागमा सोलार सेल्स देखिन्छन्, जसले ल्याप्टपको ब्याट्री चार्ज गर्नेछन् ।