सानीभेरी गाउँपालिकाको वडा नम्बर ९ सिम्ली बजारमा निर्माण गरिएको सिम्ली हाटबजारको उद्घाटन गरिएको छ ।
स्थानीय उत्पादन, स्थानीय बजार भन्ने नारासहित सञ्चालन गरिएको हाटबजारको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ सानीभेरी गाउँपालिका र भेरी वातावरणिय विशिष्टता समूहको ५ लाख लगानीमा हाटबजार निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
अबदेखी हरेक हप्ताको शुक्रबार सञ्चालन गरिने उक्त हाटबजारमा स्टलहरु निःशुल्क उपलब्ध गराइने छ ।
सिम्ली हाटबजार सञ्चालक समिति अध्यक्ष प्रेम बहादुर ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्ख बहादुर विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष्य कमला रोका पुनको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
साथै उद्घाटन कार्यक्रममा सानीभेरी गाउपालिकाका बिभिन्न वडाका कृषकहरुले आफुले उत्पादन गरेका स्थानीय उत्पादनहरु स्टलमा ल्याएर बिक्री गरेका थिए । आफुले उत्पादन गरेका वस्तु प्रदर्शन गर्ने उत्कृष्ट चार जना कृषकहरुलाई पुरस्कृत समेत गरिएको छ ।
जसमा सानीभेरी-१ कि सपना घर्ती प्रथम, सानीभेरी -३ कि धनमाया रोकाय दोस्रो, सानीभेरी -९ कि तुलसा रोकाय तेस्रो र सानीभेरी -९ कै लिला ओली चौथो हुनुभएको छ। प्रथम, दोस्रो, तेस्रो र चौथो हुने चार जनालाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।


