नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु समाजवादी क्रान्तिको तयारीमा रहेको बताउनु भएको छ ।
जनतासँग माओवादी अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग यात्रामा रहनुभएका दाहालले मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै तत्कालीन ‘जनयुद्ध’ताका पनि आफू यहीं भेगमा आएर जनताबाट क्रान्तिको अनुमोदन गरेको स्मरण समेत गर्नुभयो ।
आफूहरुले लडेर ल्याएको गणतन्त्रलाई कमजोर बनाउन विभिन्न खेल भइरहेको दाहालको भनाइ थियो । ‘अब पहिलेजस्तो भूमिगत भएर र हतियार उठाएरभन्दा पनि सडक र सदनबाट समाजवादी क्रान्तिलाई सफल बनाउन लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।
साथै दाहालले ‘जनयुद्ध’ताका आफू रुकुम, रोल्पाका विभिन्न गाउँबस्तीमा पुगेर पार्टी–संगठनका कामहरु गरेको प्रसंगलाई पनि उल्लेख गर्दै ती दिनहरुको सम्झना पनि गर्नुभयो ।

कार्यक्रममा उहाँले आफ्नो नेतृत्वको सरकारले नै मध्यपहाडका जनताको आर्थिक, सामाजिक विविधताको लागि र पहाडलाई तराईसँग जोड्न मध्यपहाडि राजमार्गको योजना अघि सारेको बताउनुभयो । मध्यपहाडि राजमार्गको भेरी पुल लामो समयसम्म अलपत्र परेको उल्लेख गर्नुहुँदै सदनमा जोडदार आवार उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसका साथै उहाँले नयाँ तथा नमूना शहर निर्माणलाई उच्च प्राथमिकता दिने, कृषिमा आधारित औद्योगिकरण स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने, जल, जमिन र वनमा आधारित उत्पादनलाई अगाडि बढाउने खालका कार्यक्रममा प्राथमिकता दिने बताउनुभयो ।


