कृषि विकास कार्यालय रुकुम पश्चिमले कृषकलाई अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको छ ।
मुसिकोट नगरपालिकाका ५३ जना कृषकलाई कार्यालयले गोलासहितका मौरी घार वितरण गरेको हो । मौरी विकास प्रवद्र्धन कार्यक्रम अन्तरर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा गोलासहितका मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका अनुसार १४ जना कृषकलाई भने खाली घार वितरण गरिएको छ । कृषि विकास कार्यालयका कृषि अधिकृत महेश चन्दका अनुसार प्रत्येक कृषकलाई १/१ वटाका दरले गोलासहितको मौरी घार, धुवाँदानी, घुम्टी, कुनगेट र पञ्जा वितरण गरिएको हो । गोलासहितको मौरीघारलाई रु १० हजार र खाली घारलाई रु ४ हजारमा खरिद गरी ल्याएर वितरण गरिएको कृषि अधिकृत चन्दले जानकारी दिनुभयो ।
गोलासहितको मौरी घार लिने कृषकले रु ६ हजार १ सय ७५ र खाली घार लिने कृषकले रु २ हजार रकम बेहोरेका छन् । बाँकी ५० प्रतिशत भने कृषि विकास कार्यालयले सहयोग गरेको हो । यस वर्ष कृषि विकास कार्यालयले मौरी विकास प्रवद्र्धन कार्यक्रमको लागि रु ४ लाख बजेट विनियोजन गरेको जनाएको छ ।


