रुकुम पश्चिमको मुसिकोटबाट ‘कर्नालीमा सिस्नुपानी हास्यव्यङग्य यात्रा, २०८२’ को प्रारम्भ भएको छ ।
सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सुशासन प्रवद्र्धनका लागि बुधबार मुसिकोटबाट कर्नालीमा सिस्नुपानी हास्यव्यङग्य यात्राको सुरुवात गरेका हुन् ।
मुसिकोट नगरपालिका र राप्ती साहित्य परिषदको संयोजनमा हास्यव्यङग्य मार्फत सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउन यो अभियान सुरुवात गरिएको बताईएको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती राखेको रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिनुभयो ।
कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन शर्माले सुशासन तथा सदाचारको बिषयमा प्रस्तुती राख्नुभएको थियो । त्यसैगरी सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे लगायत अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टङकराज आचार्य, शिशिर योगी, सुबोध गौतम, चक्त दवाडि लगायतको जोडदार प्रस्तुती रहेको थियो ।
उक्त कार्यक्रममा रुकुम पश्चिम निवासी कविहरु मुकुन्द शर्मा, मनलाल ओली, ओम खत्री, गिरी प्रसाद बुढाले पनि प्रस्तुती राख्नु भएको थियो ।
यो यात्रा रुकुमपश्चिमबाट जाजरकोट, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्मको लागि तय भएको सिस्नुपानी नेपालका महासचिव टङकराज आचार्यले जानकारी दिनुभयो । कर्णालीका ६ जिल्लामा हास्यव्यङग्य र रचनात्मक ढंगबाट देशको सामाजिक, राजनीतिक र सांस्कृतिक विषय उजागर गर्ने र जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक भरत कुमार शर्मा, प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसी, जिल्लाका सुरक्षा अधिकारीहरु, विद्यार्थी, सर्जक, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।