प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकामा सञ्चालन गरिएको ५० दिने सिप विकास तालिम सोमबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।
तालिममा सहभागिता जनाएका ४० जना प्रशिक्षार्थीले प्रमाणपत्र प्राप्त गरेका छन्।
श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने नाराका साथ फागुनको अन्तिम साताबाट सुरु गरिएको तालिमको समापन समारोहमा नगरप्रमुख महेन्द्र केसीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने दिशामा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिममा पानी तथा स्यानिटरी सम्बन्धी कार्यका लागि २० जना प्लम्बर र काठ सम्बन्धी सीपका लागि २० जना सिकर्मी प्रशिक्षार्थी सहभागी थिए।
मुसिकोट नगरपालिकाका विभिन्न वडाबाट छनौट गरिएका सहभागीहरूलाई नगरपालिकाको आर्थिक सहयोग तथा थ्री आर इन्जिनियरिङ कन्सलटेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रालिको प्राविधिक सहकार्यमा तालिम दिइएको हो।
समापन कार्यक्रम वडा नम्बर १ का वडाध्यक्ष ज्ञानु चन्द्र चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन प्रकाश गिरी, रोजगार संयोजक मायाँ श्रीवास्तव लगायतको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमको सञ्चालन रिम बहादुर खड्काले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता सिपमूलक तालिमहरू युवाहरूलाई रोजगारी र आत्मनिर्भरतातर्फ अग्रसर गराउने माध्यम हुने विश्वास व्यक्त गरेका थिए।