चण्डी दल गणले नं. १९ बाहिनी अड्डाको नेतृत्व तथा नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिवार आठबिसकोट नगरपालिका-४ को गोतामकोट स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको हो ।
चण्डी दल गण रुकुम पश्चिमका अनुसार शिविरबाट ५१८ जना महिला र १५५ जना पुरुष गरी जम्मा ६७३ जनाले सेवा लिएका हुन् । जसमध्ये ६२ जना बालबालिका रहेका थिए ।
शिविरबाट स्त्री रोग जाँच तथा उपचार, मनोसामाजिक परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको गणले जनाएको छ ।
गाउँमै शिविर मार्फत निःशुल्क सेवा पाउँदा सर्वसाधारणहरू खुसी भएका छन् ।
नं. १९ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी श्री पदमबहादुर बुढा (पिएच.डी.) को प्रमुख आतिथ्यतामा भएकाे उक्त शिविरमा चण्डी दल गणका गणपति शरद थापा, नं. १९ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
शिविर आठबिसकोट नगरपालिका कार्यालय, वडा नम्वर ४ को कार्यालय, स्वास्थ्य सेवा कार्यालय, ओरेक नेपाल, गोतामकोट स्वास्थ्य चौकी लगायतको सहकार्यमा सम्पन्न गरिएको हो ।








