रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
आज एक कार्यक्रमकाबीच रुकुम पश्चिम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिपोपना घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिले आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख देवबहादुर बिकले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।
कार्यवहाक प्रमुख बिकलाई प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत टिकाराम जैसीले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाको प्रमाणपत्र समेत प्रदान गर्नुभएको छ ।
छ वटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा.महेश चौलागाईले जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय पूर्ण खोप निर्देशिका, २०७१ को तेस्रो संस्करण २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताउनुभयो ।
त्यसका साथै १५ महिनादेखि ५९ महिना उमेरका बालबालिकाहरुमा पूर्ण खोपका लागि खोपको अवस्थाको पहिचान र बिश्लेषण समेत गरिएको उहाँले जानकारी दिनुभयो । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी लगायत सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि तयार गरिएको प्रतिबद्धता पत्रका हस्ताक्षर समेत गरेका छन् । कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीले गर्नुभएको थियो ।