रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको पिपलमा एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शुक्रबार बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलमा एकदिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरबाट १९८ घरपरिवार लाभान्वित भएका छन् । आयोजित शिविरमा किसानहरूले आफ्ना गाई, गोरु, भैंसी, बाख्रा, भेडा, कुखुरा र कुकुरको उपचार गराएका हुन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्राविधिक रिमबहादुर खड्काका अनुसार शिविरमा ७,१३२ पशुपंक्षीको उपचार गरिएको छ। त्यसमध्ये ५१७ गाई-गोरु, ३५४ राँगा-भैंसी, २,७८५ भेडा-बाख्रा, ३,४२५ कुखुरा र ५१ कुकुर उपचार गरिएका छन्। साथै, नौ बोका र चार बहर गोरुको बन्ध्याकरण पनि गरिएको छ। यसरी नियमित स्वास्थ्य परीक्षण, खोप र औषधि उपचारको सुविधा गाउँमै पाउदा पशुपालक किसानहरु खुशी भएका छन् ।
शिविरमा पशु अस्पताल तथा गाउँपालिकाको पशु सेवा कार्यालयका प्राविधिक टोलीका साथै पशुविज्ञ डा. दीपक ओली र रिया फुयालको पनि सहभागिता रहेको थियो भने कार्यक्रमको उद्घाटन वडा नम्बर २ का वडाध्यक्ष प्रकाश खत्रीले गर्नुभएको थियो ।