“प्राङ्गारिक कृषि कर्णालीकाे पहिचान, विषादी रहित उत्पादन हाम्राे अभियान” भन्ने मूल नाराका साथ रुकुम पश्चिममा विषादी प्रयोगमुक्त सप्ताह २०८१ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सप्ताहको अवसरमा मुसिकोट नगरपालिका १ खलंगा बजारमा प्रभात फेरि कार्यक्रम गरी मनाइएको छ।
कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा बिहिबार जिल्लाको मुसिकोट नगरपालिका १ बागबजारदेखि सुरु भएको प्रभात फेरि सहिद गेट तल्लो बजार हुँदै कालिका मन्दिरमा आएर कोणसभामा परिणत भएको थियो। कोण सभामा बोल्दै कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेतले रासायनिक विषादीले मानिसलगायत सबै जीवजन्तुलाई क्षति पुर्याउने हुँदा यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
विषादी प्रयोग गरिसके पछी पर्खन पर्ने अवधि ख्याल नगर्ने, वाली कटानी समयमा विषादीका प्रयोग गर्ने, बिक्रीभन्दा अगाडी विषादीमा डुवाउने, विषादीको मात्रा वढाएर छर्ने, रोग कीराको पहिचान बिना विषादी छर्ने, विषादीलाई खेती बाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने, लगायतका कार्यले क्यान्सर जस्ता दीर्घरोगहरूको संक्रमण बढिरहेको बताउँदै प्रमुख बस्नेतले विषादी प्रयोग निरुत्साहित गर्न सबै आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो गतवर्षको तथ्यांक हेर्दा नेपालमा ६३५ टन खास विष विषादी आयात भएको पाइएको छ। ।
जसमा किटनासक १६९ टन, रोगनाशक ३४७ टन, झारनासक १०५ टन र अन्य १४ टन रहको छ। सो विषादीको लागि करिव ७५ करोड रुपैयाँ बाहिरीने गरेको तथ्याङ्क उल्लेख छ ।

विषादी सप्ताह चैत्र ३ गते देखि ९ गते सम्म मनाईदै छ। कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुल बहादुर जीसी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि किसान लगायत सरोकावाला निकायको उपस्थिति रहेको थियो।


