नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम आठविसकोट नगरपालिका पूर्व नगर प्रमुख गोर्खबहादुर केसी सन्देशले प्रतिशिल राष्ट्रिय अभियानमा सबै रुकुमेलीलाई गोलबन्ध हुने अपिल गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी लगायतका साना दल संग एकता गर्ने सहमति गरेपछि त्यस एकता प्रकृयामा सहभागी नहुने र आफु प्रगतिशिल अभियानमा उपमहासचिव जनार्दन शर्माको घोषणामा साथ दिने र आम रुकुमेलीलाई पनि रुकुमबाट अभियानमा सक्रिय रहन आग्रह गर्नुभएको हो ।
बुधबार प्रगतिशिल राष्ट्रिय अभियान रुकुम पश्चिमको संयोजकको रुपमा जारी केसीको प्रेस नोटमा जनताको परिवर्तनशील भावनाको नेतृत्व गर्न सक्ने सबल पार्टी निर्माणको लागि प्रगतिशील राष्ट्रिय अभियानमा सरिक हुन सबै रुकुमेलीहरुमा हार्दिक अपिल गरेका छन । ‘प्रचण्ड रेल छुट्यो भन्दै हुनुहुन्छ तर यसको अवस्था रेल होइन कि मानिसले चलाउन छोडेको जर्जर बस जस्तो भएर दोबाटोमा उभिएको छ’ प्रेस नोटमा उनले लेखेका छन, ‘पुराना असफल चालकहरूले यसलाई चलाउने तयारी गरिरहेका छन् । खटारा जस्तो यो बस अब चल्न सम्भव छैन । आसन्न निर्वाचन पछि यो कवाडमा जाने निश्चित प्राय छ ।’
केसीले रुकुम पश्चिममा प्रगतिशिल अभियानको नेतृत्व गरेसंगै जिल्ला तथा पालिका स्तरहरुमा पनि छलफललाई तिव्रता दिएका छन । रुकुम यसअघि पनि जनार्दन शर्माकै नेतृत्वमा रहेको र अब पनि ठुलो पार्टीपंती यस अभियानमै रहेको उनको दावी छ ।
विस्तृत प्रेस नोट तल पढ्नुहोस ।
आदरणीय दाजु भाइ तथा दिदी बहिनीहरू, गौरवशाली इतिहास बोकेको नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा सहभागी भएपछि आफ्नो उद्देश्य र कार्यदिशामा क्रमशः अस्पष्ट बन्दै गयो। नेतृत्वको भड्किलो जीवन शैली, सङ्गठन सञ्चालनमा विधि र प्रणाली अभाव र जनताको भरोसामा निरन्तर कारण यो पार्टी उठ्नै नसकिने गरी थलिंदै गयो । हामी रुकुमका समर्पित नेता-कार्यकर्ताहरूले यो अवस्थाको विरोध गर्दै एउटा सक्षम, अनुशासित र जनमुखी राजनीतिक सङ्गठन निर्माणको प्रयास गर्दै आएका हौं। तर पार्टी सुधार हुनुको सट्टा झन् पछि झन् दिशा हीन र भद्रगोल बन्दै गयो । आज यो पार्टी केही वृद्ध नेताहरूको सङ्कलन केन्द्रजस्तो बनेको छ, जसले अब कुनै परिवर्तनको नेतृत्व गर्न सक्दैन । क. प्रचण्ड रेल छुट्यो भन्दै हुनुहुन्छ तर यसको अवस्था रेल होइन कि मानिसले चलाउन छोडेको जर्जर बस जस्तो भएर दोबाटोमा उभिएको छ, र पुराना असफल चालकहरूले यसलाई चलाउने तयारी गरिरहेका छन् ।
खटारा जस्तो यो बस अब चल्न सम्भव छैन । आसन्न निर्वाचन पछि यो कवाडमा जाने निश्चित प्राय छ । यसरी साबिक पार्टीले रुकुमेली तथा आम नेपाली जनताको भावना र हितको प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट भइसकेको छ । त्यसैले पुराना दलहरूबाट संरक्षित भ्रष्टाचार, कुशासन र नीतिगत दिशाहीनताको विरोधमा हामीले ‘प्रगतिशील राष्ट्रिय अभियान, रुकुम’ सुरु गरेका छौं । यो अभियान अन्तर्गत हामी रुकुमका सम्पूर्ण शिक्षक, बुद्धिजीवी, व्यवसायी, जेन-जी युवा, विद्यार्थी एवं विभिन्न तह र तप्काका आम जन साधारणसँग राजनीतिक संवाद र परामर्श गर्दै छौं र निकट भविष्यमै यो अभियान एक सशक्त नयाँ राजनीतिक शक्तिमा परिणत हुनेछ । यसले रुकुमेली जनताको भावना, जेन जी युवाहरूको चाहना एवं सहिद तथा वेपत्ता योद्धाहरुको सपनाको भारी उठाउन सक्षम हुने छ भन्ने हामीले दृढ विश्वास लिएका छौं। यो अभियानले राजनीतिक हिसाबले अलगावमा पर्ने दिशामा गएको रुकुमलाई नयाँ सन्दर्भ सहित राष्ट्रिय मूल प्रवाहको नेतृत्वदायी भूमिकामा पुऱ्याउने छ भन्नेमा हामी विश्वस्त छौं।
रुकुमका अभिभावक क. प्रभाकरले वैकल्पिक राजनीतिक शक्ति निर्माणको पक्रियामा अगाडी बढ्दा निरन्तर उहाँको साथ र समर्थनमा जुटेका रुकुमेली युवाहरूको भूमिका विशेष स्मरणीय छ । आगामी दिनहरूमा पनि युवाहरूले सक्रिय सहभागीताका साथ नेतृत्व लिने कुरामा हामी विश्वस्त छौँ। अबको समय युवाहरूकै हो। यो यात्रा कठिन अवश्य छ तर परिस्थिति अत्यन्त अनुकूल बनेको छ । हालसालै विस्फोट भएको विद्रोही जनभावना नेतृत्वविहीन देखिदै छ । र यसले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको व्यग्र प्रतीक्षा गरिरहेको छ । जनताको परिवर्तनशील भावनाको नेतृत्व गर्न सक्ने सबल पार्टी निर्माणको लागि प्रगतिशील राष्ट्रिय अभियानमा सरिक हुन सबैमा हार्दिक अपिल गर्दछौं ।
गोरख बहादुर केसी
संयोजक
२०८२ कार्तिक २६

