रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिम नष्ट गरिएको छ ।
आठबिसकोट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आठबिसकोट १२ ठुलीबार्खुमा लगाइएको अफिम नष्ट गरेको हो ।
ठुलीबार्खुका विभिन्न आठ स्थानको पाँच रोपनी जग्गामा गैरकानूनी रुपमा लगाइएको लागुपदार्थ अफिमका बोटहरु पूर्ण रुपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक गणेश खनालको कमाण्डमा रहेको १० जनाको प्रहरी टोलीले उक्त स्थानमा लगाइएको अफिम नष्ट गरेको हो । अफिम गहुँखेतीको बिचमा र पाखो बारीमा लगाउने गरिएको पाईएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिममा प्रहरीले विभिन्न समयमा अवैध रुपमा लगाइएको अफिम खेति नष्ट गर्दै आईरहेको छ ।