जिल्ला विपद व्यवस्थापन समिति रुकुम पश्चिमले गर्मीयाममा हुने विपद व्यवस्थापन गर्न विभिन्न निर्णयहरु गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापनको बैठकले गर्मियाम हुने क्षेती न्युनीकरण गर्न विभिन्न निर्णय गरेको हो । गर्मि मौसममा हुने तापक्रम वृद्धि तथा हावाहरीका कारण अत्यधिक मात्रामा लागलागी तथा डढेलोको कारण ठूलो धनजनको क्षति हुने संभावनालाई मध्यनजर गरी घटना हुन नदिन तथा क्षति न्यूनीकरणका लागि जिल्लास्थित सबै सुरक्षा निकायहरू, स्थानीय तह तथा रेडक्रस लगायतका सङ्घसंस्थाहरू बिच कार्यात्मक समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले चौरजहारी नगरपालिका वडा नम्बर २ मा भूकम्पबाट पूर्ण वा आंशिक रूपमा क्षति भएका निजी आवासको विस्तृत क्षति आँकलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका प्राविधिकहरूबाट विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भइ स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय सहितको सिफारिस समेतबाट पहिचान भै विपद् सूचना प्रणालीमा प्रविष्ट भएका १० जना लाभगा्रहीलाई जिल्ला प्रशासन कार्यालयको निर्णयबाट अनुमोदन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएको छ ।
त्यस्तै बैठकले सड़क सुरक्षा र यातायात सहजता समेतलाई मध्येनजर गर्दै जोखिम न्यूनीकरणका लागि मध्यपहाडी लोकमार्ग, राप्ती लोकमार्ग र सल्लीबजार चौरजहारी सडक खण्डमा आवश्यक सडक सुरक्षा एवम् यातायात सहजीकरणको लागि सडक डिभिजन चौरजहारीलालाई अनुरोध गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिनुभयो ।


