नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरकारी बजेट सबै नागरिकका लागि समान अवसर सुनिश्चित गर्ने आधार हुनुपर्नेमा जोड दिनुभएको छ।
जिल्ला स्तरमा मौद्रिक नीति र लगानी अवस्था बारे प्रत्यक्ष संवाद गर्न मुसीकोट आइपुग्नुभएका गभर्नर पौडेलले बजेट कुनै व्यक्ति, वर्ग वा क्षेत्रको लागि मात्र नभई सम्पूर्ण नेपालीको साझा हितका लागि हुनुपर्ने धारणा राख्नुभयो।
सरकारी नीति र बजेटमा कसैको एकल पहुँच छैन। यसले सबैको समावेशी हित सुनिश्चित गर्नुपर्छ, गभर्नर पौडेलले भन्नुभयो, बराबरी अवसर कायम भएमा मात्र हामी समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार गर्न सक्छौं ।
१८औँ गभर्नरको रूपमा हालै नियुक्त हुनुभएका पौडेलले आर्थिक नीतिमा निरन्तरता र सुधारलाई आफ्नो प्रमुख प्राथमिकता ठहर गर्नुभएको छ। उहाँले वर्तमान आर्थिक परिदृश्यमा सम्पत्तिको विविधिकरण अपरिहार्य रहेको बताउँदै सेयर बजारप्रति पनि सन्तुलित दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो।

शेयर बजारमा एकैचोटी अत्यधिक आशावादी भएर लगानी गर्दा जोखिम बढ्छ। सन्तुलित र विविध क्षेत्रमा लगानी गर्दा वित्तीय सुरक्षाको आधार बलियो हुन्छ, उहाँले भन्नुभयो समग्र पूँजी बजारको विकासका लागि पारदर्शिता, वित्तीय साक्षरता र लगानी सुरक्षाको प्रत्याभूति गरिनुपर्छ।
गभर्नर पौडेलले कृषिमा भएको लगानीको विश्लेषण गर्दै व्यावहारिकता र सक्षमता कृषि ऋण प्रवाह हुनुपर्नेमा जोड दिनुभयो। हामी आकाशबाट झरेका होइनौं, हामी आफैं किसानका सन्तान हौं, भन्दै उहाँले कृषि क्षेत्रमा देखिएको लगानीको खाडलका कारण उत्पादनशीलता घटेको र यथार्थमै आधारित लगानी नीति आवश्यक भएको धारणा व्यक्त गर्नुभयो।
उहाँले बैंक तथा वित्तीय संस्थाहरुलाई वास्तविक किसान र उत्पादनमा आधारित योजनाहरुलाई मात्र प्राथमिकता दिन आग्रह गर्दै भन्नुभयो, कागजमा सस्तो कथा होइन, माटोमा पसिना बगाउने किसानलाई सहयोग गर्ने नीति बनाऔं।
कार्यक्रममा सहभागी जिल्लाका व्यवसायी, कृषक अगुवा र बैंक प्रतिनिधिहरुले कृषि उत्पादनका क्षेत्रमा लगानीको प्रभावकारिता नदेखिएको, सडकले नछोएका उर्वर भेगमा पहुँच नपुगेको, बजार प्रणालीमा बिचौलियाको नियन्त्रण रहेको र राजमार्ग आसपासका जमिनहरु उपयोगविहीन बन्न थालेको जस्ता समस्याहरु प्रस्तुत गरेका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जनस्तरको माग र सुझावका आधारमा मौद्रिक नीति परिमार्जन आवश्यक रहेको बताउँदै, जिल्लामा त्यसै अनुरूपको राय संकलन भइरहेको जानकारी दिनुभयो। मौद्रिक नीति केवल दस्तावेज होइन, जनताका आवश्यकता समेट्ने सशक्त औजार हो, उहाँको भनाइ थियो।
कार्यक्रममा नार्कका कार्यकारी निर्देशक कृष्ण तिमिल्सेना, वैज्ञानिक सुमित अर्याल लगायतको उपस्थिति रहेको थियो। छलफलको संयोजन प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले गर्नुभएको थियो।


