रुकुम पश्चिम जिल्लाको १० औँ जिल्ला सभा सम्पन्न भएको छ ।
आज विभिन्न नीतिगत मार्गदर्शन तथा निर्णयहरू पारित गर्दै सभा सम्पन्न भएको हो । सभा जिल्ला समन्वय समितिको सभा हलमा भएकाे थियो । जिल्ला समन्वय समिति प्रमुख तथा सभाका अध्यक्ष लुम्बिनी गौतमले नीतिगत मार्गदर्शन तथा निर्णयहरू पेस गर्नुभएको थियो ।
पेस भएका नीतिगत मार्गदर्शन तथा निर्णयहरूमा आवश्यक छलफल र परिमार्जन सहित पास भएको जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
सभाले गाउँपालिका तथा नगरपालिकाहरूको पूर्ण स्वामित्वमा रहेको स्यार्पु कृषि कम्पनी अन्तर्गत निर्माणाधीन दुग्ध उद्योग निर्धारित समयभित्र सम्पन्न गर्न संघीय सरकारबाट प्राप्त दुग्ध सङ्कलन प्रवर्द्धन र प्रशोधन सम्बन्धी बजेट सोही उद्योगमा लगानी गर्ने प्रबन्धका लागि सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने मार्गदर्शन पारित गरेको छ ।
त्यस्तै विगतका जिल्ला सभाबाट पारित नीतिगत मार्गदर्शनलाई निरन्तरता दिँदै जिल्ला स्थित सरकारी कार्यालय, गैर सरकारी संस्था, राजनीतिक दल, पत्रकार, एकल महिला, अपाङ्ग लगायत सबै संघ संस्था कार्यालयबाट प्राप्त सुझावहरू समेटेर आगामी आर्थिक वर्षहरूमा आयोजना प्राथमिकीकरण र कार्यान्वयनका लागि प्रदेश योजना सिफारिस समितिबाट योजनाहरू छनोट भएको र उक्त आयोजनाहरूको प्राथमिकरण गर्ने निर्णय समेत पारित भएको समन्वय अधिकारी भट्टराइले बताउनुभयो ।
निर्माण भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि सम्पूर्ण साझेदारहरूसँग समन्वय गरी अगाडि बढाउने, भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकता दिने, पछिल्लो पटक गएको भूकम्पको क्षति आकलन गर्ने लगायतका निर्णय पनि सभाबाट पारित भएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको जिल्ला सभामा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माको प्रमुख तथा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय र कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लकाे विशेष आतिथ्यता रहेको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद भट्टराईले गर्नुभएको थियो ।