रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक लगाएको छ ।
आज नगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण रोक लगाएको हो ।
पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को नियम २९ मा निगमबाट बाहेक अन्य कसैबाट पनि पेट्रोलियम पदार्थ विक्रि वितरण गर्न नहुने व्यवस्था रहेको उल्लेख गर्दै प्रज्वलनशील पदार्थलाई खुला रुपमा विक्री वितरण, ओसार पसार, भण्डारण नगर्न नगरपालिकाले आग्रह गरेको छ ।
खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गर्दा आगलागी भई मानवीय तथा भौतिक रुपमा क्षति हुन सक्ने भएकाले खुला रुपमा विक्री वितरण रोक लगाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर विष्टले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा नगरपालिकाको केही स्थानहरुका किराना पसल, मोटर ग्यारेज तथा खुद्रा पसलहरुबाट समेत खुल्ला रुपमा बोतल,जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको विक्री तथा वितरण भएको जनगुनासो आएकाले उक्त कार्य दण्डनीय भएकाले कसैले नगर्न/नगराउनु हुन नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिका भित्र अवैध रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिरहेकाले व्यवसायीहरुले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अवैध रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्न भनिएको छ । सूचनाको वेवस्था गरी अवैध रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्नका साथै अवैध रुपमा पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने पसल बन्द समेत गरिने नगरपालिकाले चेतावनी दिएको छ ।