रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले आठ जना युवाहरूलाई व्यवसायिक सीप तथा क्षमता विकास तालिमका लागि काठमाडौं पठाउने भएको छ ।
चौरजहारी नगरपालिका र सम्भव (SAMBHAV) परियोजनासँगको सहकार्यमा युवाहरूलाई व्यवसायीक सीप तथा क्षमता विकास तालिम प्रदान गर्न लागिएको हो ।
व्यसायिक सीप विकास तालिका लागि ६० जना युवाहरूले आवेदन पेस गरेकोमा निर्धारित कोटाको परिधीमा रहेर आठ जना छनोट गरिएको छ । छनोट भएका युवाहरू पाँच महिनासम्म काठमाडौंमा बसेर व्यसायिक सीप तथा क्षमता विकास सम्बन्धी पूर्णरूपमा निशुल्क तालिम पाउनेछन् ।
तालिमबाट उनीहरूलाई रोजगारी प्राप्त गर्न वा आफ्नै व्यवसाय सुरु गर्न आवश्यक ज्ञान र आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै आफ्नै समुदायका लागि उदाहरणीय व्यक्ति बनाउन सहयोग गर्नेछ ।
वारिष्टा (कफी बनाउने), बेकरी, कम्प्युटर, सिभिल, व्युटिपार्लर, मेकानिकल, इलेक्ट्रिकल, कुक, टेलरिङ लगायतका सीप विकासका लागि १८ देखि २५ वर्ष उमेर समूहका युवाहरूको आवेदन परेको थियो । सङ्क्षिप्त सूचीपछि प्रस्तुतिकरण र अन्तरवार्तका समेतका आधारमा अन्तिम छनोट गरिएको चाैरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
अधिकृत ढकालका अनुसार छनोट भएका सहभागीहरूलाई नगरपालिका कार्यालयमा आइतबार कार्यक्रमको आयोजना गरी बधाईं तथा तालिम सफलताको शुभकामना व्यक्त गरिएको छ । अभिभावकसमेतको उपस्थितमा सीप विकास तालिम र व्यवसायको लागि प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।
सहभागीहरूलाई नगरप्रमुख पुष्प वादी, नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा, बि.एम्. लगायतले बधाईं शुभकामनाका साथै लगनशील भएर तालिम पूरा गर्न निर्देशन समेत गर्नुभएको छ ।


