रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले भाङ्गो खेतिलाई वैधानिकता दिएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिकाले गत हिउँदे अधिवेशनबाट भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विधेयक–२०८१ पारित गरी भाङ्गो खेति गर्नलाई वैधानिक दिएको हो।
गाउँसभाबाट विधेयक पारित भएसँगै फल र रेसाका लागि भाङ्गो खेतिलाई वैधानिक्ता दिइएको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले जानकारी दिनुभयो । भाङ्गो खेति यस गाउँपालिकाको मात्र नभई रुकुमपूर्व जिल्ला र आसपासका जिल्लावासीको पनि मुख्य आयस्रोत भएकाले वैधानिक दिइएको उहाँको भनाइ छ ।
भाङ्गो भन्ने बित्तिकै जिल्ला बाहिरका मान्छेले चरेस र गाँजा उत्पादन भन्ने मात्र बुझिराखेका छन् तर त्यो बुझाइ गलत भएकाे अध्यक्ष घर्तीमगरको भनाइ छ । भाङ्गोको फलबाट तेल उत्पादन, फलबाटै स्वादिलो चटनी र रेसाबाट धागो उत्पादन हुन्छ र भाङ्गोको फल र रेसाबाट यस जिल्लावासीले आफ्नो जीवनयापन गरिराखेका छन् भन्ने कसैले बुझेका छैन्, हामीले बुझेका छौँ, स्थानीयको जिवनस्तरलाई माथि उकास्नका लागि भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विधेयक मार्फत निश्चित मापदण्ड निर्माण गरी वैधानिकता दिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
अब भाङ्गो खेति गर्नका लागि स्थानीयले गाउँपालिकालाई पहिले नै कुन ठाउँ र कति खेति गर्न लागेको भन्ने कुरा गाउँपालिकाबाट अनुमति लिनु पर्ने गाउँपालिकाले जनाएको छ । भाङ्गो खेति गर्न अनुमति, अनुगमन लगायत मापदण्ड कार्यविधिमा व्यवस्था गरिएको छ । गाउँपालिकाले भाङ्गो खेतिलाई वैधानिक्ता दिएकोमा स्थानीय बासिन्दा खुसी भएका छन् ।
नेपाल सरकारले भने भाङ्गो खेतिलाई अहिलेसम्म वैधानिकता दिएको छैन ।