रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका १ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक वितरण गरिएको छ ।
आज एक कार्यक्रमको आयोजना गरी आमा बुवा स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषबाट पालिकामा रहेका विपन्न, टुहुरा शहिद परिवार तथा जेहनदार विद्यार्थीहरूलाई छनोट गरेर वर्षभरिलाई पुग्ने गरी कापी, कलम, झोला र पोशाक लगायतका सामग्री वितरण गरिएको हो ।
२०७६ सालमा स्थापना भएको अक्षय कोषबाट हरेक वर्ष पालिकामा रहेका विपन्न, टुहुरा, शहिद परिवार तथा जेहनदार विद्यार्थीहरूलाई छनोट गरेर शैक्षिक सामग्री तथा पोशाक वितरण गर्ने गरिएको छ ।
वीरेन्द्र माविमा एक कार्यक्रमको आयोजना गरी पालिकाभरका ४० वटा विद्यालयका १ सय २५ जना विद्यार्थीहरूलाई तह अनुसार सामग्री वितरण गरिएको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।
कक्षा १–५ का विद्यार्थीहरूलाई एक सेट कपडा, एउटा झोला, एउटा टिफिन बक्स, २० वटा कलम र ६० वटा कापी, कक्षा ६–८ का विद्यार्थीहरूलाई एक सेट कपडा, एउटा झोला, ज्यामिति बक्स, ७२ वटा कापी र ३० वटा कलम तथा कक्षा ९–१० का लागि भने ठुलो कापी ७२ वटा, एउटा झोला, एक सेट कपडा, ज्यामिति बक्स र ४० वटा कलमवितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

त्यस्तै अक्षयकोषबाट पालिका स्तरीय कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पनि शैक्षिक सामग्री प्रदान गरिएको छ । प्रथमलाई ३६ वटा कापी, १० वटा कलम, द्वितीयलाई ३० वटा कापी, १० वटा कलम र तृतीयलाई २५ वटा कापी र १० वटा कलम प्रदान गरिएको केसीले जानकारी दिनुभयो । त्यस्तै प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीका अभिभावकलाई माला र एक सेट कपडाले सम्मान गरिएको छ ।
यसका साथै अघिल्लो वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः २ हजार, १५ सय र १ हजार नगदले पुरस्कार गरिएको छ भने तीनका अभिभावकलाई कपडाले सम्मान गरिएको छ ।
वीरेन्द्र मावि बाँफिकोट ४ मा कार्यालय रहेको आमा बाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष ३८ लाख ५० हजारको रहेको छ । पालिकावासी तथा अन्य सहयोगी व्यक्तिहरूको सहयोगबाट अक्षयकोष स्थापना गरिएको हो ।
देश तथा विदेशमा रहेका जिल्ला भित्रका तथा जिल्ला बाहिरका समेत गरी हालसम्म अक्षयकोषका लागि १ सय ११ जनाले सहयोग गरेको प्रतिष्ठानले जनाएको छ । उक्त कोषमा रहेको रकमको लाभांशबाट हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको छ ।


