रुकुम पश्चिमको बाँफिकोटमा रहेको आमा बुवा स्मृति अक्षकोषले यो बर्ष पालिकाका १२१ विद्यार्थीहरुलाइ छात्रवृति प्रदान गर्ने भएको छ ।
आज बसेको कोष संचालन समितिको बैठकले जेठ १६ गतेका दिन एक कार्यक्रमका विच पालिकाभरका १२१ जना विद्यार्थीलाइ छात्रवृति वितरण गर्ने निर्णय गरेको हो ।
अक्षय कोषबाट विपन्न, जेहनदार, सहिद परिवार तथा टुहुरा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर वर्ष भरी पुग्ने गरी शैक्षिक सामग्री वितरण गर्ने गरिएको छ । यसबाट आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई ठुलो सहयोग पुग्ने आमाबुवा अक्षय कोषका अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।
‘‘जुन उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो त्यो उद्देश्यले सार्थकता पाएको छ, हामीले पालिकामा शैक्षिक सुधार गर्न र पालिकामा रहेका कुनै पनि बालबालिका शिक्षा प्राप्त गर्नबाट वञ्चित नहुन भनेर कोष स्थापना गरेका थियौँ । उद्देश्य अनुरूप यसले सार्थकता पाएको छ’’ अध्यक्ष केसीले भन्नुभयो ।
यो बर्ष पालिकाका ४० वटा विद्यालयका बालबालिकाले मात्रै अक्षकोषबाट छात्रवृति पाउने छन् । चार वटा विद्यालयबाट भने विद्यार्थीहरुको नाम छनोट गरि पठाइएको छैन । बालबालिकाले छात्रवृति अन्तरगत एक शैक्षिकशत्र सम्म पुग्ने शैक्षिक सामाग्रि पाउने गर्छन । कापि, कलम, विद्यालय पोषाक, झोला, प्राविका विद्यार्थीलाइ टिफिनबक्स र माथिल्लो कक्षाका विद्यार्थीलाइ ज्यामितिबक्स हस्तान्तरण गरिने गरिएको छ ।

त्यस्तै आमा बुवा अक्षय कोषले गणतन्त्र दिवसको अवसरमा १५ गते हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको अक्षय कोषका अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आधारभुत तहसम्मको विद्यार्थीको लागि हाजिरीजवाफ र कक्षा (९–१०) सम्मका विद्यार्थीको लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुनेछ ।
हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाइ ८ हजार, दोस्रो स्थान प्राप्त गर्ने विद्यार्थीलाइ ६ हजार, तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीलाइ ४ हजार र सान्तोना हुनेलाइ २ हजार नगत पुरुस्कार वितरण गरिने छ ।
त्यस्तै वक्तृत्वकलामा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाइ २ हजार र सान्तोना हुनेलाइ १ हजार पुरस्कार वितरण गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।
साथै गत शैक्षिकसत्रको कक्षा ८ को परिक्षा र अघिल्लो एसइइ परिक्षमा पालिकामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थी र उनीहरुको अभिभावकलाइ सम्मान गर्ने निर्णय पनि भएको छ ।
पालिकामा रहेका विपन्न, टुहुरा तथा जेहनदार विद्यार्थीहरूको लागि शैक्षिक क्षेत्रमा अक्षय कोष भरोसा र सहारा बन्दै गएको छ । शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले स्थापना भएको अक्षयकोष पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगी बनेको छ ।
पालिका भित्र आर्थिक अभावका कारण शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरेको आमा बाबु स्मृति प्रतिष्ठान अक्षय कोषका अध्यक्ष केसीले जानकारी दिनुभयो ।


