रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० मा उत्पादन भएको लसुनको बिक्री औपचारिक रूपमा सुरु गरिएको छ।
गाउँबाट संकलन गरिएको पहिलो चरणमा एक ट्रक लसुन काठमाडौंतर्फ पठाइएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार लसुनलाई तीन ग्रेड (ए, बी, सी) मा वर्गीकरण गरेर किसानले प्रतिकिलो क्रमशः एकसय पच्चीस, एकसय पाँच र साठी रुपैयाँ प्राप्त गरेका छन्।
वडा सरकारले लसुन उत्पादनलाई व्यवस्थित गर्न ‘लसुन पकेट क्षेत्र’ निर्माण गर्ने योजनामा अघि बढिरहेको छ। “यो वर्ष मात्रै डेढ करोड रुपैयाँ बराबरको लसुन बिक्री गर्ने तयारी छ,” वडा अध्यक्ष खड्काले बताउनुभयो।
लसुन बिक्रीको व्यवस्थापन तथा बजार विस्तारका लागि स्थानीय सरकार, किसान समूह र व्यापारीबीच समन्वय भइरहेको वडा कार्यालयले जनाएको छ।



