मुसिकोट नगरपालिकाले सडक मिचेर बनाइएका संरचना हटाउन १५ दिने निर्देशन जारी गरेको छ ।
आज एक सूचना जारी गर्दै नगरपालिकाले राप्ती राजमार्गको शेरिगाउँ, बागबजार, सल्ले तथा खलंगाको सहिद गेट, जिप्रका रोडका साथै त्रिवेणी चोक देखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक क्षेत्रभित्र मापदण्ड विपरित निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन निर्देशन दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जारी गरेको सूचनामा भनिएको छ -“१५ दिन भित्र यस क्षेत्रभित्रका अस्थायी घर, टहरा, घुम्ती लगायतका भौतिक संरचनाहरू नहटाए कानुन बमोजिम कारबाही हुने गरिनेछ ।”
मापदण्ड विपरितका संरचनाले दुर्घटना बढाउनुका साथै पैदल यात्रीलाई आवत जावतमा समस्या हुने र बजार क्षेत्रको व्यवस्थापन समेत अव्यवस्थित देखिएकाले नगर कार्यपालिकाको निर्णय र जिल्ला प्रशासन कार्यालयमा वैशाख ५ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन गरिएको सूचनामा उल्लेख छ ।
मुसिकोट नगरपालिकाले दिएको यो निर्देशन पहिलो भने होइन ।