रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा फैलिएको भनिएको हैजाको संक्रमण रिपोर्टमा हैजाका किटाणु नभएको पाइएको छ। चैत २ गते अस्पताल आएका मुसिकोट ७ का ३ जना बिरामीको जिल्लामा नमूना परीक्षण गर्दा १ जनामा हैजाका किटाणु भएको बताइएको थियो ।
उक्त रिपोर्ट पछि थप जाँचका लागि बिरामीको दिसाको नमुना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमान्डौमा पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको २ जनाको दिसामा हैजाको किटाणु नदेखिएको रिपोर्ट प्नाप्त भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी काली बहादुर ओलीले जानकारी दिनुभयो।
हैजाको रिपोर्ट नेगेटिभ आए सँगै त्रसित हुनु पर्ने अवस्था नरहेको तर गर्मी समय आउँदै गरेकाले सफा तथा ताजा खाना, सफा पानीको प्रयोग गर्न र सरसफाइमा ध्यान दिन सचेत भने बन्नु पर्ने सूचना अधिकारी ओलीले बताउनु भयो। साथै कतै स्वास्थ्य सम्बन्धि समस्या फैलिएको शंका लागेमा नजिकको स्थानीय स्वास्थ्य संस्थामा जानकारी गराउने र त्यहावाट नियन्त्रण व्यवस्थापन हुन नसक्ने अवस्था आएमा समयमै स्वास्थ्य सेवा कार्यालय लगायत सम्बन्धित निकायमा खवर गरिदिन समेत स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले आग्रह गरेको छ।
यस अघि चैत २ गते स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा आएका बिरामीको जाँच गर्दा मुसीकोट नगरपालिका ७ फेचङका १४ वर्षीय एक बालकमा हैजाको संक्रमण पुष्टि भएको बताइएको थियो ।








