रुकुम पश्चिमको इलाका प्रशासन कार्यालय चौरजहारीमा राष्ट्रिय परिचयपत्र बनाउन पाइने भएको छ ।
इलाका प्रशासन कार्यालय चौरजहारीले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो।
अबदेखि नगरपालिका भित्रका नागरिकहरूले इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र आवेदन दर्ता गर्न पाउने कार्यालय प्रमुख तोषराज केसीले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि प्रशासनले नेपाली नागरिकताको प्रमाणपत्र, बसाइँ सराईको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्र, पति वा पत्नीको मृत्यु भएको हकमा मृत्यु दर्ता प्रमाणपत्र र सम्बन्ध विच्छेद भएको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र आवश्यक पर्ने बताएको छ ।
यसअघि राष्ट्रिय परिचयपत्र बनाउन चौरजहारीवासी जिल्ला प्रशासन कार्यालय मुसिकोटमा आउनुपर्ने बाध्यता थियो । तर अबदेखि नागरिकता सहित अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रको काम इलाका प्रशासनबाटै दर्ता हुने भएकोले चौरजहारी बासीमा खुसियाली छाएको छ ।
