रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा खुला वडाध्यक्ष कप पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर २ को आयोजनामा यही जेठ ९ र १० गते मुसिकोट खलंगाको बराहटाकुरा कवर्डहलमा उक्त प्रतियोगिता हुने भएको हो ।
वडाले ब्याडमिन्टन खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्दै आएको छ । मुसिकोट नगरपालिका वडा नम्बर २ ले आयोजना गर्ने यो तेस्रो संस्करण हो ।
वडा सचिव कमल पुनका अनुसार यस प्रतियोगिताको विजेता जोडीले १७ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै उपविजेता जोडीले नगद ८ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना दुई जोडीले समान २ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सहभागिताका लागि यहि जेठ ८ गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सकिने वडा कार्यालयले जनाएको छ ।