
रुकुम पश्चिम
मुसिकोट नगरपालिका कृषि शाखाको आयोजनामा नासपाती कलमी अभियान शुक्रबार वडा नं. ६ स्थित मेलचौर मा सम्पन्न भएको छ। अभियानमा स्थानीय कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रम नगर प्रमुख महेन्द्र के.सी. को अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा उपप्रमुख विमल कुमार पुन तथा विशेष अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर के.सी. सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख के.सी.ले कृषिलाई परम्परागत शैलीबाट आधुनिक तथा व्यवसायिक ढंगमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता अभियानले कृषकलाई व्यवहारिक सीप प्रदान गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो।
प्रमुख अतिथि पुनले कृषकको आयआर्जन वृद्धि र क्षमता विकासका लागि नगरपालिकाले निरन्तर कृषककेन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

त्यसैगरी कृषि शाखा प्रमुख अवधेश कुमार चौधरी ले नासपाती खेतीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै सही प्रविधिबाट कलमी गर्न सके उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताउनुभयो।
अभियानका क्रममा उन्नत जात छनोट, बिरुवा उत्पादन प्रक्रिया, उपयुक्त समय र तरिकाबाट कलमी गर्ने विधि तथा व्यावहारिक अभ्यास गराइएको थियो। सहभागी कृषकहरूले कार्यक्रम प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।



