राप्ती साहित्य परिषद् रुकुम पश्चिमले १७ औँ वार्षिकोत्सवको अबसरमा विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।
आज १७ औँ वार्षिक उत्सवको अवसरमा मुसिकोट नगरपालिकाको खलंगामा कार्यक्रमको आयोजना गरी पुरस्कृत तथा सम्मान गरेको हो ।
कर्णाली प्रदेशका पूर्व प्रमुख सचिव भरतकुमार शर्मालाई रुकुम साहित्य माला पुरस्कार २०८१, साहित्यकार खगेश्वर भण्डारीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१, गायक तथा सर्जक तिलक परियारलाई योगमाया लोक साहित्य पुरस्कार २०८१, पत्रकार बलेन्द्र ओलीलाई सुमना–सुमन साहित्यिक पुरस्कार २०८१ र देवीकला कठायतलाई बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार २०८१ प्रदान गरिएको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो ।
त्यस्तै कला साहित्य संस्कृति संरक्षण मञ्च त्रिवेणीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१ बाट पुरस्कृत पुरस्कृत गरिएको अध्यक्ष ओलीले बताउनु भयो ।
रुकुम साहित्य माला पुरस्कार, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार, योगमाया लोक साहित्य पुरस्कार , र बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार ५/५ हजारका साथै सुमना–सुमन साहित्यिक पुरस्कार १ हजार राशिको रहेको छ ।
संस्थाले वार्षिक उत्सवको अवसरमा विभिन्न संस्था तथा व्यक्तिलाई कदर पत्रले सम्मान समेत गरेको छ । यसका साथै परिषद्लाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको बताइएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा अध्यक्ष ओलीको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता समन्वय अधिकारी पुण्यप्रसाद भट्टराई, प्रज्ञा प्रतिष्ठान नेपालका सदस्य शशीराम कार्कीको विशेष अतिथ्यता रहेको कार्यक्रमको सञ्चालन परिषद्का सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो ।