मुसिकोट (रुकुम पश्चिम) –
दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विशेष अनुगमन सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश प्रशाद थानिको नेतृत्वमा गरिएको अनुगमनमा सवारी साधनमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु राखिएको छ कि छैन भन्ने विषयमा विशेष ध्यान दिइएको थियो। यस क्रममा एक हाईसले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि तुरुन्तै कानुनअनुसार जरिवाना गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासनले पर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रामा सावधानी अपनाउन, सवारी साधनमा भीडभाड नगर्न र नियम उल्लङ्घन गर्ने सवारीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
अनुगमनलाई अझ प्रभावकारी बनाउन प्रहरी, यातायात कार्यालय र सम्बन्धित निकायको सहकार्यमा निरन्तर निगरानी राखिने प्रशासनले जानकारी दिएको छ।