रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ मा स्थित डिग्रे शाईकुमारी मन्दिरमा परम्परागत रुपमा लाग्दै आएको डिग्रे मेला यस वर्ष आजबाट सुरु भएको छ ।
हरिबोधनी एकादशीदेखी कार्तिक पुर्णिमाको दिनसम्म पाँच दिन लाग्ने यो मेला कर्णालीकै चर्चित मेला हो ।
डिग्रे शाईकुमारी भगवती देवी, सिद्ध बाबा मन्दिर डिग्रेमा वैदिक कालदेखी सनातन रुपमा हरिबोधनी एकादशी देखी कार्तिक पुर्णिमाको दिन मूल पर्वको रुपमा धार्मिक परम्परा देखि पुजा, पाठ, बोका बली दिदै आएको शाईकुमारी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो ।
यस वर्ष आज अर्थात कातिक १५ गते हरीबोधन एकादशीका दिन तुलसीको विवाहसहित शुद्ध रुपमा बिशेष पुजापाठ गरिने, १६ गते द्धादशीका दिन पुजापाठ, बोका बली दिन सकिने, १७ गते त्रयोदशीमा पुजापाठ, बोका बली दिन सकिने अध्यक्ष केसीले बताउनुभयो ।
त्यसैगरी १८ गते चतुर्दशीका दिन पुजापाठ , बोका बली दिन सकिने छ र रात्रिमा जागाराम बस्न सकिने छ । १९ गते पुर्णिमाको दिन पुजापाठ र मेला लाग्ने, आकर्षक नाचगान हुने र अन्न, वरदान, धन र पुत्र वरदान, टिका ग्रहणका साथ मेलामा बिशेष झाँक्रीहरु प्रस्तुत हुने, परम्परागत सगाल नाच प्रस्तु हुने अध्यक्ष केसीको भनाइ छ ।

