जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका प्रतिवादीहरूलाई उच्च अदालत सुर्खेतले जन्मकैदको सजाय सदर गरेको छ।
उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिनुभयो ।
रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। त्यो सदर भएको छ,’ थापाले भन्नुभयो, ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो।’
उक्त घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रूकुम पश्चिम ३६’ (१) र दाजु ‘५४ रूकुम पश्चिम ३६’ (३) लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।
उनीहरूको जन्मकैदको फैसला उच्च अदालत सुर्खेतले सदर गरेको हो। जन्मकैद २५ वर्ष हुन्छ।

जिल्ला अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको थियो। जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो। तर प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो। तर उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर हुने उपरजिस्ट्रार थापाले बताउनुभयो। यो फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो।
उनीहरूको शव फरक फरक दिन, भेरी नदीको फरक फरक स्थानमा फेला परेको थियो।
घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गर्यो। बाँकी १४ जनालाई पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको थियो।
सरकारी वकिल कार्यालयमार्फत् ३४ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो।
यस मुद्दामा जिल्ला अदालतले २०८० मंसिरमा २३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसमा २०८० माघ २२ गते उच्च अदालत सुर्खेतमा पुनरावेदन परेको थियो। त्यसको अन्तिम फैसला आज मंगलबार भएको हो।


