सानीभेरी गाँउपालिकाले भूकम्प प्रभावित तथा विपन्न अवस्थाका बालबालिकाहरुलाई आर्थिक सहायता प्रदान गरेको छ ।
गाउँपालिकाले विभिन्न साझेदार निकायसँगको समन्वयमा ९३४ जना भूकम्प प्रभावित, विपन्न, अनाथ बालबालिकालाई ५३ लाख ५६ हजार ३१० रुपियाँ आर्थिक सहायता गरेको हो ।
२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि यहाँका ४८९ जना बालबालिकालाई नगद सहयोग गरिएको गाउँपालिकाका बाल अधिकार अधिकृत मानविर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित बालबालिका मध्य ३६१ जनालाई जनही चार हजार र १२८ जनालाई जनही दश हजारका दरले २७ लाख २४ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको हो । त्यसैगरी छ जना अनाथ बालबालिकाहरुलाई दुई हजारका दरले गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाले आपतकालिन बाल उद्धार कोषबाट दश जनालाई ८४ हजार आर्थिक सहायता गरेको छ । उक्र रकम बालबालिको उपचारको लागि सहायता गरिएको हो । गणतन्त्र दिवसको अवसरमा २९ जना बालबालिकालाई शैक्षिक सहायता अन्तर्गत चार हजार ३१० रुपियाँ बराबरको शैक्षिक सामाग्री पनि सहयोग भएको छ ।
विपन्न लक्षित छात्रबृत्ति कार्यक्रम अन्तर्गत कक्षा ६ देखि १२ सम्मका चार सय जना बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको प्रतिवर्ष छ हजारका दरले २४ लाख रुपियाँ प्रदान गर्दै आईरहेको गाउँपालिकाले जनाएको छ ।



