रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा खेतीयोग्य जमिनमा सिचाँइको पहुँज बढ्दै गएको छ ।
पछिल्लो समय गाउँपालिकाको विभिन्न स्थानमा खेतीयोग्य जमिनमा सिचाँइको सुुविधा बढ्दै गएको हो । पालिकामा रहेको खेतीयोग्य जमिन मध्य करिव ५० प्रतिशत जमिनमा सिचाँई सुविधा पुगेको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकामा ३ हजार ८२ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन रहेकामा ४८ दशमलव ६६ प्रतिशत अर्थात १५ सय हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । गाउँपालिका खेतीयोग्य जमिनमा सिचाँइ सुविधा पुर्याउन निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।
कृषि क्षेत्रमा भएका प्रयासहरु
पालिकामा ९२ वटा कृषि समुह र ५२ वटा कृषि फर्म तथा कृषि नर्सरी स्थापना भइ संचालनमा रहेका छन् । त्यस्तै पालिकामा आकस्मिक बाली संरक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
खाद्य तथा कृषि संगठन(एफएओ)को आर्थिक सहयोगमा वडा नम्बर १, २ र ४ मा १३ वटा समुहका ३ सय ८७ कृषकहरुलाई तरकारीको बिउ, ३ हजार ८७० किलो गँहु र ७५ कृषकलाई प्लाष्टिक घर निर्माणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले जानकारी दिनुभयो ।
युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न तथा कृषि पेसालाई थप व्यवस्थित बनाउन गाउँपालिका लागिरहको पालिकाले जनाएको छ । कृषकलाई सहज सेवा प्रदान गर्न एक वडा एक एक कृषि तथा पशु प्राविधिक व्यवस्था गरिएको समेत सानीभेरी गाउँपालिकाले जनाएको छ ।