सानीभेरी गाउँपालिकामा हेल्भेटास नेपालको आर्थिक सहयोग र सानीभेरी गाउँपालिकाको सह लगानीमा ५० दिने डकर्मी तालिम सञ्चालन गरिएको छ।
शुक्रबार वडा नं ३ मा गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । यस तालिमले पुनर्निर्माण कार्यलाई सहज बनाउनुका साथै स्थानीय युवाहरूलाई सीपमूलक रोजगारतर्फ उन्मुख गर्ने अध्यक्ष विष्टलेको भनाई छ । आयोजित डकर्मी तालिममा वडा नं ३ का २० जना युवाहरू सहभागी हुने भएका छन् ।
तालिमको समयमा स्थानीय सहिदका छोरा यम बहादुर बिक र हालै दुर्घटनामा ज्यान गुमाएका मनराज नकालकी श्रीमतीको लागि दुईवटा नमुना घर निर्माण गरिनेछ। यसअघि पनि सोही कार्यक्रमअन्तर्गत ८० जना युवाहरूले तालिम लिइसकेका छन् भने ८ वटा नमुना घर निर्माण भईसकेको पनि गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले बताउनुभयो ।
गाउँपालिकाको वडा नं १ र २ मा समेत छिट्टै ४० जना युवाहरूका लागि थप तालिम सञ्चालन गरिने योजना रहेको अध्यक्ष विष्टले बताउनुभयो ।