राष्ट्रिय वाणिज्य बैंकले रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४, सोलाबाङमा आफ्नो सेवा विस्तार गर्दै एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
एक्टेन्सन काउन्टरको आज पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले उद्घाटन गर्नुभएको हो ।
स्थानीय नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मुसिकोट नगरपालिका ३, ४, ११, १२ तथा त्रिवेणी गाउँपालिकाका केही वडालाई लक्षित गर्दै काउन्टर स्थापना गरिएको हो ।
मुसिकोट शाखाका प्रबन्धक हेमन्तराज न्यौपानेका अनुसार यस काउन्टर मार्फत खाता खोल्ने, नगद जम्मा तथा निकासी, चेकबुक वितरण, एटिएम सेवा, मोबाइल तथा अनलाइन बैंकिङ, रेमिटयान्स, ग्राहक गुनासो समाधान जस्ता विविध सेवा उपलब्ध हुनेछन । यद्यपि, ऋण सम्बन्धी सम्पूर्ण कार्य भने मुसीकोट शाखाबाटै सञ्चालित हुने उहाँले जानकारी दिनुभयो ।
एक्टेन्सन काउन्टर उद्घाटन समारोहमा बोल्दै पुर्व मन्त्री शर्माले राष्ट्रिय वाणिज्य बैंकलाई गरिब जनताको बैंकको रुपमा परिभाषित गर्दै यसले कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

रुकुमको उर्वर भुभागलाई लक्षित गर्दै पशुपालन तथा दुग्ध उत्पादनमा ध्यान दिनु आवश्यक छ, उहाँले भन्नुभयो, प्रत्येक घरपरिवारले दिनको कम्तीमा एक हजार आम्दानी हुने गरी पशुपालन गर्नुहोस त्यसको सहजीकरण गर्न म तयार छु । बैरागी ठाँटीमा निर्माणाधीन दुग्ध संकलन केन्द्रको चर्चा गर्दै उहाँले यसको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उक्त केन्द्र सञ्चालनमा आएपछि दैनिक ४० हजार लिटर दूध प्रशोधन हुने लक्ष्य राखिएको छ । त्यसका लागि अहिलेबाटै घरघरमा गाईभैँसी पाल्न सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले स्थानीय सरकारलाई आगामी बजेटमा कृषि र पशुपालनलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।
नेपाली काँग्रेसका नेता गोपालजि जंङ शाहले शुभकामना सन्देश पठाउँदै राष्ट्रिय वाणिज्य बैंकले सोलाबाङमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको खबर सुन्दा खुखी लागेको बताउनु भयो । सोलाबाङ्गका ब्यापारी र स्थानियलाई निकै बैकको निकै समस्या रहेकाले अब त्यो समाधान हुने बैंक एक्टेन्सन काउन्टर स्थापनमा आफुले पनि मेहनत गरेको सन्देश पठाउनु भएको थियो ।
कर्णाली प्रदेश प्रबन्धक दुशेन्त निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मुसिकोट शाखा प्रबन्धक हेमन्तराज न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, नेपाली कांग्रेसका नेता नन्दु बिष्ट, पुर्व मन्त्री रातो कामी, सोलाबाङ्ग बजार ब्यबस्थापन समिति लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सोलाबाङमा बैंकिङ सेवाको सुरुवातले स्थानीय जनताको वित्तीय पहुँचलाई सजिलो बनाउँदै ग्रामीण समृद्धिको आधार तयार गर्ने विश्वास गरिएको छ ।


