रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको आयोजना तथा त्रिवेणी गाउँपालिकाको समन्वयमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रम सहभागीहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख सहसचिव रामकृष्ण पुडासैनीले भ्रष्टाचार न्यूनिकरण, नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै भ्रष्टाचार भएको कसरी थाहा पाउने, भ्रष्टाचार कसरी हुन्छ, भ्रष्टाचार भएमा जानकारी कहाँ गराउने, कानुनी प्रक्रिया के हुन्छ जस्ता विषयमा प्रष्ट पार्नुभएको थियो । सहभागिहरुले पनि पालिकामा भ्रष्टाचार न्यूनिकरण गरी शून्य सहनशलता कायम गर्नुपर्ने, भ्रष्टाचार तथा अनियमिता गर्ने जो कोहीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने लगायतका माग राखेका थिए ।
भ्रषटाचार भएको थाहा पाएमा जुनसुकै व्यक्तिले जुनसुकै बेला अख्तीयार दूरुपयोग अनुसन्धानको कार्यालयमा जानकारी बनाउन कार्यालय प्रमुख सहसचिव पुडासैनीले आग्रह गर्नुभएकाे छ ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख सहसचिव रामकृष्ण पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको विषेश आतिथ्यता रहेको थियो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भणडारी, वडा अध्यक्षहरु, पालिकामा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।


