रुकुम पश्चिममा कर्णाली प्रदेशकै ठुलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।
आगामी जेठ १८ गते देखि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा तेस्रो रुकुम कप भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रत्येक वर्ष हुने प्रतियोगिताको तेस्रो संस्करण यो वर्ष जेठ १८ गते देखि २५ गतेसम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा खेलमैदानमा सञ्चालन हुदैंछ । पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुनेछ ।
उक्त आयोजनामा पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने उप विजेताले २ लाख ९१ हजार, तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ भने वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाले जानकारी दिनुभयो । विधागत तर्फ व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने उहाँको भनाइ छ ।
पुरुष तर्फ नेपाल भरीका पालिकाले सहभागिता जनाउन पाउने छन् भने अनिवार्य रूपमा तीन जना खेलाडी पालिका बाहिरका राख्नुपर्ने उहाँको भनाई छ ।
त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार, उप विजेताले ७५ हजार पुरस्कार , तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
विधागतमा महिला तर्फ पनि व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिनेछ ।
रुकुम पश्चिम जिल्लालाई खेलकुदको हबका रूपमा विकास गर्नुका साथै खेल पर्यटनको विकासका लागि रुकुम कम भलिबलको परिकल्पना गरिएको अध्यक्ष बुढाले बताउनुभयो ।








