रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ८२ करोड बराबरको बजेट ल्याएको छ ।
शनिवार भएको नगर सभामा नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत गरिएको बजेट वक्तव्यको अनुसार चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्षको कुल बजेट ८१ करोड ९४ लाख ८३ हजार रहने उल्लेख छ । चालु तर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४.५९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रस्ताव गरिएका कार्यक्रम तथा योजना कार्यान्वयन गर्न नगरपालिकाको सञ्चित कोष तर्फ ५७ करोड ४१ लाख ९५ हजार २५ रुपैयाँ विनियोजन गरिएको उक्त बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
आगामी वर्षको कुल अनुमानित बजेटको स्रोतमा आर्थिक ऐन, सहिद स्मृति नगर अस्पताल सहितको आन्तरिक राजस्व २ करोड ५९ लाख २० हजार प्रक्षेपण गरिएको छ ।
संघ सरकारको समानीकरण अनुदान १० करोड २४ लाख, सशर्त अनुदान चालु तर्फ २४ करोड १० लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३१ लाख, समपूरक अनुदान पुँजीगत तर्फ १ करोड १७ लाख, विशेष अनुदान चालु तर्फ ८४ लाख र संघको राजस्व बाँडफाँड तर्फ ९ करोड ३५ लाख ६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
साथै राजस्व बाँडफाँड स्थानीय सरकारको दहत्तरबहत्तर शुल्क बापत ३० लाख र मालपोत रजिस्ट्रेसन शुल्क ३९ लाख गरी ६९ लाख राजस्व अनुमान गरिएको नगर उपप्रमुख बिएमले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै कर्णाली प्रदेशको समानीकरण अनुदान प्रदेश सरकारबाट १ करोड ३२ लाख २१ हजार, सशर्त अनुदान चालु तर्फ १४ लाख १९ हजार र सशर्त अनुदान पुँजीगत तर्फ १ करोड ९७ लाख परिचालन हुने उल्लेख छ ।
प्रदेश सवारी साधनबाट १९ लाख २८ हजार २ सय ३७ आय अनुमान गरिएको पनि बजेट वक्तव्यमा उल्लेख छ ।
यसअघि विषयगत रूपमा विनियाेजन भएको बजेट कार्यान्वयनकाे अवस्था, प्रतिफल, सुधार गर्नुपर्ने पक्ष सहितको अध्ययन गरेर नगरपालिकाले पहिलो पटक बजेट तयार पारिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
बजेटकाे पूर्ण पाठ पढ्नुहोस्
आर्थिक वर्ष २०८२-०८३ कार्यक्रम तथा बजेट वक्तव्य upload