प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै भर्त्सना गर्नुभयो । संविधान निर्माणसंगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको उहाँले बताउनुभयो । उहाँले ऐन जारी गर्नुपर्ने शिक्षकहरूको जायज मागलाई सम्बोधन नगरी दमनमा उत्रनु उचित नभएको जिकिर गर्नुभयो ।
त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरूमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकाहरूको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने उहाँको भनाइ छ।
त्यस्तै शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको राप्रपा सांसद रोशन कार्कीले आरोप लगाउनुभयो । शिक्षा ऐन पारित गर्दै शिक्षकहरूलाई पठनपाठन गर्ने वातावरण बनाउन माग गर्नुभयो।
त्यस्तै सांसदहरूले घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।


