रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रमको परियोजना तथा सिकाइ कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) जिल्ला शाखाको आयोजनामा तथा आईएफआरसीको आर्थिक सहयोग र त्रिवेणी गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाको सभाहल खारानेटामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) जिल्ला शाखाका सभापति बलबिर पुनको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी रहनुभएको थियो। त्यस्तै, उपाध्यक्ष राजकुमारी रेउले खडका र प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर भण्डारी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रममा रेडक्रसद्वारा सञ्चालित विभिन्न पुनर्निर्माण तथा पुनःस्थापना गतिविधिहरूको समीक्षा गरिएको थियो। जसअनुसार त्रिवेणी गाउँपालिकाका ७ सय घरधुरीलाई १५ हजार रुपैयाँका दरले बहुउद्देश्यीय नगद सहायता प्रदान गरिएको छ। त्यस्तै, वडा नम्बर ९ र १० का १०० घरधुरीलाई अस्थायी आवास निर्माणका लागि ५० हजारका दरले सहयोग गरिएको छ। साथै, ४० घरधुरीलाई आवास स्तरोन्नतिका लागि १५ हजारका दरले सहयोग गरिएको छ।
खानेपानी तथा सरसफाइ सुधारका लागि वडा नम्बर ९ र १० का १०० जनालाई शौचालय निर्माण तथा मर्मतका लागि सहयोग प्रदान गरिएको छ। खानेपानी ट्याङ्की व्यवस्थापनका लागि प्रतिघर २२ हजार ५ सयका दरले नगद सहयोग गरिएको छ। यसैगरी, त्रिवेणी गाउँपालिका ७, ९, र १० मा तीनवटा खानेपानी आयोजना मर्मत तथा दुईवटा नयाँ आयोजना निर्माण सम्पन्न भएको छ।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरू, कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रमका संयोजक सरोज थापा, अनुगमन तथा मूल्यांकन अधिकृत शैलेश श्रेष्ठ लगायत पुनर्निर्माण परियोजनाबाट लाभान्वित समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।