नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीबारे उठेको भ्रम र तथ्यहरूलाई गहिरो गरी बुझ्न आग्रह गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले चार बुँदामा भ्रम र तथ्यहरू बुझ्न आग्रह गर्नुभएको हो।
विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिवेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन उहाँले आग्रह गर्नुभएको छ।
पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन समेत उहाँले आग्रह गर्नुभएको छ।
‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर सङ्कटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन,अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो -शर्माले फेसबुकमा लेख्नुभएको छ,’अर्थतन्त्रको पुनर्संरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले सङ्कटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ ।’
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरूप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने उहाँले बताउनुभयो ।
संविधान संशोधन,शासकीय स्वरूप,चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरूमा राष्ट्रलाई एकताबद्ध गर्नुपर्नेमा उहाँकाे जोड छ ।