सल्यानमा वैज्ञानिक हिसाबले अल्सोफिला स्पाइनुलोसा, नेपालीमा रुख उन्यु तथा स्थानिय रुपमा रुख डउरे भनेर चिनिने दुर्लभ विरुवा भेटिएको छ ।
फर्न वर्गमा पर्ने यो पुरातन र संरक्षणयोग्य प्रजाति सल्यानको दार्मा गाउँपालिका–३ अन्तर्गत पर्ने धुलखर्क सामुदायिक वनमा फेला परेको हो।
स्थानीय नेत्रलाल घर्तीले उक्त वनस्पतिको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि वातावरणविद् जीवन शर्मा, कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल, र प्राकृतिक स्रोत व्यवस्थापन अध्ध्ययनरत टोपेन्द्र गिरीको टोलीले बैशाख ७ गते स्थलगत अवलोकन गरेको थियो ।
टोलीद्वारा संकलित नमुना, फोटोग्राफ र प्रत्यक्ष अध्ययनको आधारमा उक्त वनस्पति अल्सोफिला स्पाइनुलोसा भएको पुष्टि गरिएको हो।
नेपालमा यो प्रजाति प्रायः पूर्वी र मध्य क्षेत्रका चिस्यानयुक्त वन क्षेत्रमा पाइँदै आएको छ। तर, पश्चिम नेपाल तथा विशेष रूपमा कर्णाली प्रदेशमा यो पहिलोपटक अभिलेख गरिएको हो। यसले पश्चिम नेपालमा यस प्रजातिको सम्भावित वितरण क्षेत्रको संकेत गरेको विज्ञहरूको भनाइ छ।
अल्सोफिला स्पाइनुलोसा एक रुखजस्तै संरचना भएको फर्न हो, जुन उष्ण-समशीतोष्ण जलवायूयुक्त स्थानमा पाइन्छ। यसको जैविक, पर्यावरणीय र शैक्षिक महत्त्व अत्यन्तै उच्च छ।
विज्ञ टोलीले यस वनस्पतिको संरक्षण, दिगो व्यवस्थापन, र थप अनुसन्धानका लागि सम्बन्धित सरकारी निकाय, वैज्ञानिक समुदाय तथा स्थानीय सरोकारवालाबीच समन्वय आवश्यक भएको औंल्याएको छ।
साथै, स्थानीय समुदायको सक्रियता र वैज्ञानिक खोजको सहकार्यले भविष्यमै अन्य दुर्लभ वनस्पति पहिचानमा टेवा पुर्याउने विश्वास समेत व्यक्त गरिएको छ।