दोस्रो आठबिसकोट पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव आजदेखि शुरु भएको छ ।
राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पश्चिमको आयोजनामा भएको महोत्सवको उद्घाटन कर्णाली प्रदेशका पुर्व मन्त्री रातो कामीले गर्नुभएको हो ।
आठबिसकोटस्थित राडीबजारको रगंंशालामा शुरु भएको महोत्सव आज बैशाख १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो ।
देवकोटाका अनुसार महोत्सवमा करिव ५० वटा स्टल, विभिन्न स्थानीय उत्पादनका साथै कृषि लगायतको प्रर्दशनी रहने छ ।
“आठबिसकोट समृद्धिको आधार कृषि, कला, संस्कृति, पर्यटन हाम्रो उद्योग व्यापार” भन्ने मुल नाराका साथ पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सव स्थलभित्र स्थानीय भेषभुषा, कला संस्कृति, खानपान लगायतको प्रर्दशनी गरिनुका साथै पर्यटन र संस्कृति साथै स्थानीय व्यापारलाई समेत प्राथमिकतामा राखेर संञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टल समेत राखिएको छ ।
महोत्सवमा नायक पल शाह, जिवन शर्मा, विष्णु खत्री, ज्योती मगर, पुष्कल शर्मा, बद्री पगेंनी, एलिना चौहान, समिक्षा अधिकारी लगायत स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
साथै महोत्सवमा भोली चर्चित गायक भागिरथ चलाउने सहितका कलाकारहरु आउने आयोजकले जनाएको छ ।


