रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१४ स्थित ठुलीभेरी नदीमा टिप्पर खसेको छ ।
मंगलबार वेलुका आठबिसकोट नगरपालिका ११ चिसापानीबाट वडा नम्वर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा. १ क. १५०१ नम्बरको टिपर भेरी करिडोर सडकखण्डबाट ठुलीभेरी नदीमा खसेको हो ।
टिप्परमा चालक सहित तीन जना सवार रहेको र तीनै जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा टिपर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय चालक मनिराम चौधरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बराईली र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन् । उनको पहिचान खुलेको छैन ।
उक्त टिपर सडकदेखी करिब दुई सय मिटर तल भेरी नदिमा खसेको प्रहरीको भनाई रहेको छ । बेपत्ताको खोजी भइरहेको बताईएको छ ।